Need Help ?
Call: +977- 096420135

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय डडेल्धुराको परिचय

 

नामाकरण : प्राकृतिक सुन्दरता र घना वनजङ्गलको धनी हालको डडेल्धुरालाई यस पूर्व बागखोड, तल्लो खलङ्गा, मल्लो खलङ्गा, श्वार खलङ्गा भन्ने गरिन्थ्यो । एकथरी मतावलम्बीहरुको धारणा अनुसार  डडाल्नु जस्तो धुरा भएको प्राकृतिक बनोटलाई कालान्तरमा डडेल्धुरा भन्न थालिएको भन्ने भनाई छ भने अर्काथरी मतावलम्बीहरुका अनुसार नेपाल एकीकरणको समयमा हाल सदरमुकाम  रहेको डडेल्धुराको तल्लो खलङ्गाबाट अन्याय गर्नेहरुलाई दण्ड दिने प्रशासनिक काम हुन्थ्यो । त्यही दण्ड दिने ठाउँको आकार धुरा जस्तो भएकोले दण्डालधुरा भन्ने गर्दा गर्दै कालान्तरमा डडेल्धुरा भनिएको हो ।

क्षेत्रफल र अवस्थिति : नेपालको नक्सामा सुदूरपश्चिममा पर्ने डडेल्धुरा ८०१२' पूर्व देखि ८०४७' पूर्वी देशान्तर र २८५९' उत्तर देखि २९२६' उत्तरी अक्षांससम्म फैलिएको छ । यसको क्षेत्रफल १५३७ वर्ग किलोमीटर छ जुन समग्र नेपालको कुल क्षेत्रफलको १.०५% हो । यहाँको कूल क्षेत्रफलको ७५.८% वन क्षेत्रले ओगटेको छ भने १२.७% कृषि योग्य जमीन रहेको छ । डडेल्धुरा पूर्वमा डोटी र कैलाली, पश्चिममा छिमेको राष्ट्र भारत, उत्तरमा बैतडी र दक्षिणमा कैलाली र कञ्चनपुर जिल्लाको बीचमा अवस्थित छ ।

भौगोलिक अवस्थिति : प्राकृतिक संरचना र भूधरातलीय बनोटको आधारमा डडेल्धुरालाई लेकाली भेग (१५ प्रतिशत), मध्य पहाडी भेग (५८ प्रतिशत), भित्री मद्देश (२७ प्रतिशत) मा विभाजन गर्न सकिन्छ । जुन क्षेत्र समुन्द्री सतहबाट ३०५ मीटर (सबै भन्दा होचो परशुराम प्राथमिक विद्यालय रहेको क्षेत्र) देखि २,६३९ मीटर (सबै भन्दा अग्लो भाग रमशिला चुचुरो) उचाइसम्म फैलिएको छ ।

हावापानी : यहाँको हावापानी उष्ण देखि समशीतोष्ण र शीतोष्ण छ । लेकाली भेगको औषत तापक्रम हिँदमा ० डिग्री सम्म र गर्मीमा १५-२० सम्म, मध्य पहाडमा हिँदमा गर्मीमा २०-२५ सम्म र भित्री मद्देशमा २०-३७ सम्म रहन्छ ।

सबै भन्दा होचो र अग्लो क्षेत्रमा रहेका विद्यालय : जिल्ला शिक्षा कार्यालय डडेल्धुराद्वारा वि.सं.  २०७१ मा गरिएको स्थलगत सर्वेक्षण अनुसार समूद्र सतहबाट सबै भन्दा उचाईमा रहेको विद्यालय अमरगढी नगरपालिका वडा नं. ६ मा रहेको कैलाश प्राथमिक विद्यालय भक्तपुर (उचाई २१६४ मीटर) हो भने सबै भन्दा होचो भागमा रहेको विद्यालय साविक शिर्ष गाविस वडा नं ९ परशुराममा रहेको परशुराम प्राथमिक विद्यालय (उचाई ३०५ मीटर) हो ।

प्रशासनिक विभाजन : कत्यूरवंशी रैका राजा नाग मल्ल (१३०६-१३३३) ले डडेल्धुरालाई छ, गड, पश्या, लुलात, रुपाल, बोकटा, पिपलकोट र भुत्यु गरी आठ गर्खामा विभाजन गरेका थिए । वि.सं.१९३५ सम्म डडेल्धुरा डोटी गौडामा र वि.सं.१९४५ मा डोटी गौडाबाट बैतडी गौडा अन्तर्गत रहेको थियो । वि.सं.१९७४ मा अमरगढीमा सदरमुकाम रहने गरी बैतडी गौडाको तल्लो स्वराडका १३ गा.वि.स. सहितको डडेल्धुरा गौडा स्थापित गरिएको थियो । वि.सं.२००९ मा उग्रतारा पोखरा, रोल्ली अजयमेरु, रुवाखोला, खुनी ग्राम पञ्चायतका रुपमा डडेल्धुरालाई विभाजन गरिएको थियो । वि.सं.२०१५ को आम निर्वाचनमा हालको बैतडी जिल्लाको तल्लो स्वराड सहितको निर्वाचन क्षेत्र कायम गरियो । वि.सं.२०१९ सालमा ग्राम पञ्चायत कायम भई जिल्लाको विकासलाई अगाडी बढाउने उद्देश्यले ९ इलाकामा विभाजन गरियो । हाल डडेल्धुरालाई १ निर्वाचन क्षेत्र, ९ इलाका, २ नगरपालिका र १८ गाउँ विकास समितिमा विभाजन गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक स्थल: सदरमुकामबाट २ घण्टा पैदल हिंडे पछि बस्ती र खेतको बीचमा भग्नावशेषका रुपमा रहेको अजयमेरु कोट, सदरमुकामको अग्लो डाँडामा रहेको अमरगढी किल्ला डडेल्धुराका प्रमुख ऐतिहासिक स्थल हुन् भने भित्री मद्देशको महाकाली नदिकिनारमा रहेको परशुराम धाम, सदरमुकाम नजिकैको डोटी खोलाको किनारमा रहेको घटाल थान, उग्रतारा, भागेश्वर, डागेश्वरी, समैजी, असिग्राम, गन्याप धुरा, सहश्रलिङ्ग प्रमखु धार्मिकस्थल हुन् ।

नदीनाला, ताल र झरना: सेती र महाकाली प्रमुख नदीहरु हुन । चामा गाड, भुङरा खोला, सकायल गाड, खोची गाड, रंगुन खोला, साधनी खोला, डोटेली गाड, रडुवा खोला, रुपाली गाड, शिर्ष गाड, पुन्तुरा गाड आदी खोला तथा नालाहरु हुन् । आलीताल र वडापाथी डडेल्धुराका ठूला ताल हुन् भने रुपाल रसाइलको झरना र गाङखेतको कुमडगाउँ झरना प्रमुख झरनाहरु हुन् ।

जनसाङ्ख्यिक स्थिति : वि.सं. २०६८ को जनगणना अनुसार यस जिल्लाको जनसाङ्ख्यिक स्थिति र यसका विविध पक्षहरु देहाय बमोजिम रहेका छन् :

१. जनसंख्या : कुल जनसङ्ख्या १,४२,०९४ रहेको छ । जसमा पुरुषको संख्या ६६,५५६ (४६.८ प्रतिशत) र महिलाको संख्या ७५,५३८ (५३.२ प्रतिशत)  रहेको छ । २०५८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,२६,१६२ थियो । २०५८ देखि २०६८ को १० बर्षमा डडेल्धुराको जनसंख्या १५,९३२ (१२.६ प्रतिशत) ले बढेको देखिन्छ ।

२. लैङ्गिक अनुपात : वि.सं. २०६८ अनुसार लैंगिक अनुपात अर्थात १०० महिलामा पुरुषको संख्या ८८.११ रहेको छ  ।

३. बार्षिक जनसंख्या वृद्धि दर : सालाखाला बार्षिक जनसंख्या वृद्धि दर १.१९ प्रतिशत रहेको छ । यही दर कायम रहने हो भने आगामी ५९ वर्षमा जिल्लाको जनसंख्या दोब्बर हुनेछ ।

४.  जनघनत्व : जनघनत्व (प्रति वर्ग किलोमिटरमा रहेको जनसंख्या) ९२ जना प्रति वर्ग किलोमिटर रहेको छ ।

५.  बृहद उमेर समूह अनुसार जनसंख्या : जिल्लाको कूल जनसंख्याको ५१.३८ प्रतिशत १५ देखि ५९ बर्ष उमेरका रहेको आँकडा २०६८ सालको जनगणनाले देखाएको छ । ० देखि १४ बर्ष उमेरका ४०.७३ प्रतिशत, ६० वर्ष वा सो भन्दा माथिको उमेर समूहका ७.८९ प्रतिशत रहेका छन् ।

६. परिवार संख्या : परिवारको ‍औषत आकार ५.२५ रहेको छ । कूल परिवार संख्या २७०४५ रहेको छ । सबै भन्दा बढी परिवार अमरगढी नगरपालिकामा ४७७८ (‍औषत आकार ४.४५) र सबै भन्दा कम परिवार संख्या भद्रपुरमा ४४२ (‍औषत आकार ४.९०) रहेको छ ।

७. परिवारका सदस्य संख्या : जिल्लाभर १ जना सदस्य भएको परिवार १४५७, २ जना सदस्य भएका परिवार २०८९, ३ जना सदस्य भएका परिवार २८५८, ४ जना सदस्य भएका परिवार ४३२०, ५ जना सदस्य भएका परिवार  ४९०८, ६ जना सदस्य भएका परिवार ४५२९, ७ जना सदस्य भएका परिवार २८१०, ८ जना सदस्य भएका परिवार १७२४ र ९ जना वा सो भन्दा बढी जना सदस्य भएका परिवार २३५० रहेका छन् । यस जिल्लाका ७९१२ घरपरिवारका ११६७० जना अनुपस्थित रहेका छन् ।

८. सहरी जनसंख्या : जिल्लाका १५.६५ प्रतिशत जनता शहरमा बसोबास गर्दछन् । यो संख्या देशको कूल शहरी जनसंख्याको ०.४९ प्रतिशत हो ।

९. सबै भन्दा धेरै र कम जनसंख्या भएका गाविस/नपा : धेरै जनसंख्या अमरगढी नगरपालिकामा २१२४५ रहेको र कम जनसंख्या भद्रपुर गाविसमा २१६५ रहेको छ ।

१०. घर वा आवासीय इकाइको स्वामित्व : जिल्लाभर ९३.८२ घरपरिवारका जनसंख्या आफ्नै घरमा बसेका छन् भने ३.८२ प्रतिशत घरपरिवार भाडामा बसेका छन् । भाडामा बसेका मध्ये २.५२ प्रतिशत अमरगढी नगरपालिका र ०.३२ प्रतिशत जोगबुडा गाविसमा भाडामा बसेका छन् । त्यस्तै ०.६६ प्रतिशत घरपरिवार संस्थागत भवनमा बसेका छन् ।

११. पिउने पानीको मुख्य स्रोत : कूल घरपरिवार संख्यामा १९०६१ घरपरिवारले धारा/पाइप, ६७ परिवारले ट्युबेल/हाते पम्प, ७६६ घरपरिवारले ढाकिएको इनार/कुवा, १८८८ घरपरिवारले खुला इनार/कुवा, २९२२ घरपरिवारले मुल धारा, १४९८ घरपरिवारले नदि/खोला र बाँकीले अन्य स्रोतको पिउने पानी प्रयोग गर्ने गरेका छन् ।

१२. खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन : काठ/दाउरा, मट्टितेल, एल.पि.ग्याँस, गुईठा/गोहरा, गोबर ग्याँस, बिजुली, अन्य र उल्लेख नभएको परिवार संख्या क्रमश : २६००१, ४९, ७१५, २८, ३९, ११, ४८ र १३२ रहेको छ ।

१३. परिवारले बत्ती बाल्न प्रयोग गर्ने साधन : बिजुली, मट्टितेल, गोबर ग्याँस, सोलार, अन्य र उल्लेख नभएको परिवार संख्या क्रमश : १२९६६, २०२०, २८७, २८३५, ८७८० र १३५ रहेको छ ।

१४. जन्मको आधारमा जनसंख्या : डडेल्धुराको कूल जनसंख्याको ९९.२१ प्रतिशत जनसंख्याको जन्म नेपालभित्रै भएको पाइन्छ भने ०.२४ प्रतिशतको जन्म विदेशमा भएको पाईन्छ । देशभित्रै जन्मेको जनसंख्या मध्ये डडेल्धुरा मै जन्मेका ८५.५३ र अन्य जिल्लामा जन्म भएकाको प्रतिशत १३.६७ रहेको छ ।

१५. जातजाति : देशभर १२५ वटा जातजातिको बसोबास रहेको पाईएकोमा डडेल्धुरामा २७ वटा जातजातिको बसोबास रहेको पाईएको छ । जसमा सबै भन्दा बढी क्षेत्रीको जनसंख्या ७६१४७ (५३.६ प्रतिशत) भने दोस्रो र तेस्रोमा क्रमश : बाह्रमण पहाडीको २२४७७ (१५.८ प्रतिशत) र कामीको १४९३४ (१०.५ प्रतिशत) रहेको छ । सबै भन्दा कम अन्य तराईको ४४ रहेको छ ।

१६. भाषाभाषी : जिल्लाका अधिकांश मानिसहरुले डोटेली भाषा (९२.२५ प्रतिशत) मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ । यसैगरी नेपाली भाषा ५.८ प्रतिशत, मगर भाषा १.१३ प्रतिशत, राउटे भाषा ०.२४ प्रतिशत र अन्य भाषा ०.५८ प्रतिशत मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ ।

१७.  मातृभाषा बाहेक दोस्रो भाषा बोल्ने जनसंख्या : कूल १४२०९४ जना मध्ये ९०९०० जनाको दोस्रो भाषा नेपाली, ९५ जनाको हिन्दी, ९९ जनाको लिम्बु, ८९ जनाको मगर, २३ जनाको गुरुङ्ग, १६ जनाको अँग्रेजी, ११ जनाको राजबंशी, ३९ जनाको अन्य रहेको छ भने दोस्रो भाषा नभएको संख्या ५०८२२ रहेको छ ।

१८. धर्म : डडेल्धुरामा हिन्दु धर्म मान्ने जनसंख्याको बाहुल्यता पाइएको छ । जुन कुल जनसंख्याको ९८.९ प्रतिशत छ ।  त्यस्तै ०.७ प्रतिशतले बुद्व, ०.३३ प्रतिशतले क्रिश्चियन,  ०.०३ प्रतिशतले प्रकृति र  ०.०३ प्रतिशतले अन्य  धर्म मानेको पाइन्छ ।

१९. नागरिकता : यस जिल्लामा ९९.९ प्रतिशत जनसंख्या नेपाली  नागरिक रहेको पाइएको छ भने ०.१ प्रतिशत मात्र अन्य देशका नागरिक रहेका छन् ।

२०. अपाङ्गता : जिल्लाको कुल जनसंख्याको ३.६३ प्रतिशत जनसंख्यामा कुनै एक वा बढी प्रकारको अपांगता रहेको छ । जसमा पुरुष ४.१२ प्रतिशत र महिला ३.१९ प्रतिशत छन् । यस जिल्लाका अपांगता भएका ५१५० मध्ये शारीरिक अपांगता ४०.५ प्रतिशत, दृष्टि सम्बन्धी अपांगता १९.३ प्रतिशत, सुनाइ सम्बन्धी अपांगता १५.१ प्रतिशत,  श्रवण दृष्टि विहिन २.६ प्रतिशत, स्वर वोलाइ सम्बन्धी अपांगता ९.१ प्रतिशत, मानसिक अपांगता ५.६ प्रतिशत, बौद्धिक अपांगता ३.२ प्रतिशत र बहु अपांगता ४.६ प्रतिशत रहेका छन् ।

२१. साक्षरता : राष्ट्रिय जनगणना २०६८ अनुसार डडेल्धुराको साक्षरता दर ६५.३१ रहेको छ । जसमा पुरुषको साक्षरता दर ७९.६६ र महिलाको साक्षरता दर ५२.९४ छ । २०५८ सालमा यस जिल्लाको साक्षरता दर ५१.६२ थियो । विगत १० बर्षमा जिल्लाको साक्षरता दरमा १३.६९ प्रतिशतले, पुरुषको साक्षरता दरमा ७.७३ प्रतिशतले र महिलाको साक्षरता दरमा १९.८८ प्रतिशतले  बृद्धि भएको छ । सबै भन्दा बढी साक्षरता दर रुपाल गाविसमा ७०.५० प्रतिशत रहेको र कम ५५.१६ प्रतिशत मष्टामाण्डौं गाविसमा रहेको छ । पुरुषको साक्षरता दर सबै भन्दा बढी भद्रपुर गाविसमा ८७.४३ प्रतिशत र कम ७२.०१ प्रतिशत देवलदिव्यपुरमा रहेको छ । त्यस्तै महिलाको साक्षरता दर सबै भन्दा बढी रुपाल गाविसमा ५८.४५ प्रतिशत र कम कैलपालमाण्डौंमा ४१.३८ रहेको छ  ।

२२. शैक्षिक तह पास गरेका जनसंख्या : पाँच वर्ष वा सो भन्दा माथिको उमेरका साक्षर जनसंख्याको सबैभन्दा बढी ४००२५ जनाले प्राथमिक (कक्षा १-५) पास गरेका, १९७५० जनाले निम्न माध्यमिक (कक्षा ६-८) पास गरेका, ९२८० जनाले माध्यमिक (कक्षा ९-१०) पास गरेका, ४४०६ जनाले एसएलसी पास गरेका, ३४८५ जनाले प्रमाणपत्र तह वा सो सरह पास गरेका, १०५२ जनाले स्नातक वा सो सरह पास गरेका र ३३४ जनाले स्नातकोत्तर र सो भन्दा माथि पास गरेका छन् । अनौपचारिक शिक्षा प्राप्त गरेको जनसंख्या २११६ उल्लेख भएको छ ।